दैलेख : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले व्यवसायीका हितमा नभएका कानून फेर्नुपर्ने बताएका छन् । “उद्यम, कृषि, पर्यटन र समृद्ध दैलेखको मूल आधार” भन्ने नारा सहित दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको आयोजनामा सोमबारदेखि सञ्चालित कर्णाली प्रदेश स्तरीय चौथो दैलेख महोत्सव–२०८३ को उद्घाटन समारोहमा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन् ।
मन्त्री शाहले निजी क्षेत्रले विगतदेखि उठाउँदै आएका कुराहरूमा सहमति जनाउँदै निजी क्षेत्रको विकास भए मात्र मुलुक समृद्धि हुने बताए । उनले व्यवसायीको हितमा नभएका ऐन, नियमलाई अहिलेको सरकारले संशोधन गर्नुपर्नेमा जोड दिए । जिल्लाको विकासका लागि ‘आम’ नागरिक जागरूक हुनुपर्नेमा जोड दिँदै उनले विगतको तुलनामा दैलेखले विकासमा फट्को मारेको स्मरण गराए ।
मन्त्री शाहले नागरिकको अपेक्षा अनुसार भने कामहरू नभएका स्वीकार गरे । कर्णालीका सबै जिल्लामा कृषि वस्तुको उत्पादनका लागि प्रदेश सरकारले काम गर्दै आएको उनले जनाए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री शाहले मुलुकको अर्थतन्त्र कमजोर रहेकाले नागरिकको चाहना अनुरूप राज्यले काम गर्न नसकेको बताए ।
उनले कर्णालीको विकासको मेरुदण्ड पर्यटन भएकाले राज्य र निजी क्षेत्रको समन्वयमा पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने धारणा राखेँ । ‘कर्णालीमा पर्यटन क्षेत्रको ठुलो सम्भावना छ । यसलाई उपयोग गर्नु आवश्यक छ । यहाँका पर्यटकीय क्षेत्रको संरक्षण र प्रचारप्रसार निजी क्षेत्र र तीन तहका सरकार बिचको समन्वयमा मात्र सम्भव छ ।’, मन्त्री शाहले भने ।
उनले ‘आम’ नागरिक आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । कर्णालीमा निर्माणको चरणमा रहेका ठुला आयोजना सम्पन्न गर्न केन्द्र सरकारले तदारुकता देखाउन मन्त्री शाहले आग्रह गरे । उनले उद्योग वाणिज्य सङ्घ दैलेखले अघि सारेको कोसेली घर निर्माण अभियानलाई सार्थक बनाउन नियम अनुसार आफू लाग्ने बताए । अहिलेको व्यवस्थाका आधार स्तम्भ राजनीतिक दलहरू भएकाले सबै दलले आम जनताका निम्ति काम गर्नुपर्नेमा जोड दिए ।
महोत्सव उद्घाटन समारोहमा बोल्दै दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले यहाँ रहेका पर्यटकीय स्थलको प्रचारप्रसारका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने ध्यले चौथो दैलेख महोत्सव–२०८३ को आयोजना गरिएको बताए । महोत्सव मूल समारोह समितिको संयोजक समेत रहेका थापाले स्थानीय उत्पादन प्रवर्धन गर्नु दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको मुख्य उद्देश्य रहेको बताए ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर खत्रीले उद्योग वाणिज्य सङ्घ दैलेखले जिल्लाको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले कर्णाली प्रदेश सरकारले यस अघिको बजेट व्यवसायीमैत्री निर्णय गरेको जनाउँदै यसको उपयोग गर्न समन्वय आवश्यक रहेको जनाए । उनले अब बन्ने बजेटमा व्यवसायीका पछिल्ला माग सम्बोधन गर्नतर्फ अग्रसर हुने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पदम बहादुर साहीले महोत्सवका माध्यमबाट यहाँ उत्पादित वस्तुलाई थप बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले ल्याएका केही नीतिले व्यवसायीलाई लगानीमा असहज भएको बताए । सङ्घीय सरकारले अघि सारेका केही नीतिले लगानी गर्ने वातावरणमा असर पर्ने जिकिर गरे । उनले भने, ‘सरकारले निजी क्षेत्र समेत अख्तियारले हेर्ने भन्ने विषय आएको छ, यसले लगानीमा समस्या सिर्जना गर्ने देखिन्छ । विकासका लागि सबै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिन आवश्यक छ ।’,
उद्योग वाणिज्य सङ्घ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर बुढाले मुलुकको विकासका लागि राज्य र निजी क्षेत्रको समन्वय अपरिहार्य रहेको औँल्याए । उनले सरकारले व्यवसायीमैत्री तिनी नियम ल्याउनुपर्ने बताउँदै राज्यले निजी क्षेत्रलाई पेल्ने काम गर्दै आएको आरोप लगाए । प्रदेश अध्यक्ष बुढाले राज्यको कर नीतिले व्यवसायी समस्यामा रहेका जनाउँदै बैकमा पुजी थुप्रिनु राज्यले लगानीमा सही नीति नअपनाउनु रहेको बताए ।
उनले तीन तहका सरकार निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए । ‘राज्य निजी क्षेत्रबाट पर रहेको देखिन्छ । विभिन्न नाममा कर लिन तर, सुविधा दैनन्दिन । व्यापारीका समस्याप्रति तीन तहका सरकारले ठोस नीतिको अवलम्बन गर्नु आवश्यक छ ।’, उनले भने ।
दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखका पूर्व अध्यक्ष याम बहादुर मल्लले महोत्सवले जिल्लामा रहेका काला संस्कृतिको जगेर्नाका साथ थप प्रचारप्रसारमा मद्दत पुग्ने बताए । उनले दैलेख अनेकौँ सम्भावना बोकेको जिल्ला भएकाले यहाँको थप विकासका लागि तीन तहका सरकार एकारुप भएर लाग्न आग्रह गरे । ‘विकासमा दैलेख पछि परेको भान हुन्छ । काठमाडौँले दैलेख लगायत समग्र कर्णालीको विकासमा ध्यान दिएको देखिदैन् । अहिलेको सरकारले कर्णालीले चाहना राखेको विकासलाई आत्मसात् गर्ने छ भन्नेमा विश्वस्त छौँ ।’, उनले भने ।
महोत्सव उद्घाटन समारोहमा नारायण नगरपालिकाका कार्यवाहक नगरप्रमुख तप्ता कुमारी थापाले यहाँको कला संस्कृतिको जगेर्ना गर्न लागि महोत्सवले मद्दत पु¥याउने बताइन् । उनले मुलुकको विकासका लागि स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको जनाइन् । कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले राज्यले अघि सारेका राम्रा नीति अवलम्बन गर्दै समृद्ध मुलुक निर्माणमा एकाग्र हुनुपर्नेमा जोड दिए ।









